खेलाडीको भविष्य सुरक्षामा सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति पौडेल – Sagarmathapana:: Online News Portal

खेलाडीको भविष्य सुरक्षामा सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति पौडेल

   २०८२ श्रावण २२ गते  

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीहरूको भविष्य खेलक्षेत्रमै सुरक्षित बनाउन सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट टाइटल जितेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटकाे सम्मानमा राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक स्वागत कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सरकार र सरोकारवाला निकायहरूलाई खेल र खेलाडीको विकासमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

“देश विदेशमा हुने प्रतियोगितामा सहभागी हुन आवश्यक सहयोग, तालिम र अवसर प्रदान गरिएमा हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय कीर्तिमान हासिल गर्न सक्छन्,” राष्ट्रपति पौडेलले भने। “खेल भनेको केवल प्रतिस्पर्धा मात्र होइन, यो शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासको पनि आधार हो।”

राष्ट्रपतिले बझाङको बाघ भनेर चिनिने ढाँटले आफ्नो खेलकौशल, सामर्थ्य र निरन्तर परिश्रमद्वारा उपाधि जितेर मुलुकको गौरव बढाएको उल्लेख गर्दै, यस्ता प्रतिभालाई प्रोत्साहन गर्न सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए।

“रवीन्द्र ढाँटको सफलता सम्पूर्ण नेपालीको गौरव हो,” पौडेलले भने, “उनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”

कार्यक्रममा राष्ट्रपति पौडेलले आगामी दिनमा खेलक्षेत्रको दिगो विकासका लागि योजनाबद्ध र प्रभावकारी कदम चालिने विश्वास पनि व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै