रास्वपाद्वारा समितिका सभापति खतिवडाको राजीनामा माग – Sagarmathapana:: Online News Portal

रास्वपाद्वारा समितिका सभापति खतिवडाको राजीनामा माग

   २०८२ श्रावण २२ गते  

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निजामती सेवा विधेयकमा भएको विवादित व्यवस्थाको जिम्मेवारी लिँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने माग गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष झाले सभापति खतिवडामाथि कुलिङ अफ पिरियड व्यवस्थाबारे छलछाममा नैतिक र राजनीतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै तीव्र आलोचना गरे।

“कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,” सांसद झाले भने, “छापाखानामा समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई पनि नैतिक जवाफ दिनैपर्छ। नालायकीपनको जवाफ कसले दिने? मेरो नाम छैन भन्दैमा उम्किन पाइँदैन।”

सांसद झाले भाषा आयोगमा मन्त्रिपरिषद्‍बाट नभई अन्य व्यक्तिको नियुक्ति गरिएको विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यो नियुक्ति प्रक्रियाले संवैधानिक निकायप्रतिको भरोसामा आँच पुग्ने चेतावनी दिए।

रास्वपाले यो विषयमा थप छानबिन र जवाफदेहिताको माग गर्दै सरकार र समितिका सभापतिको भूमिकामाथि प्रश्न उठाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै