उत्तराखण्ड बाढीमा ४ को मृत्यु,१०सैनिकसहित १०० बेपत्ता – Sagarmathapana:: Online News Portal

उत्तराखण्ड बाढीमा ४ को मृत्यु,१०सैनिकसहित १०० बेपत्ता

   २०८२ श्रावण २१ गते  

काठमाडौं।भारतको उत्तराखण्ड राज्यमा मंगलवार दिउँसो आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरण अनुसार बाढीमा परी चार जनाको मृत्यु भएको छ भने १० जना सैनिकसहित १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

उक्त बाढी उत्तराखण्डको खीरगंगा नदीमा अचानक आएको हो। मुसलधारे वर्षापछि आएको बाढीले धराली बजार क्षेत्रमा रहेका घर, होटल, मन्दिरलगायतका संरचनाहरू बगाएको बताइएको छ। दिउँसो करिब साढे १ बजेको समयमा आएको बाढीले बजार क्षेत्र तहसनहस बनाएको छ।

हिन्दुस्तान टाइम्सले उल्लेख गरेअनुसार हालसम्म एक सय मानिस बेपत्ता भएका छन्। बेपत्तामध्ये १० जना सैनिक जवान रहेका छन्, जो बाढीको समयमा हर्सिल क्षेत्रमा अवस्थित सशस्त्र बलको क्याम्पमा थिए।

स्थानीय बासिन्दासँगै पर्यटकसमेत बेपत्ता हुनेमा परेका हुन सक्ने अनुमान गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार उद्धार कार्य तिव्र रूपमा अघि बढाइएको छ। यद्यपि लगातारको वर्षा र साँझ पर्न थालेपछि हेलिकोप्टर र सुरक्षाकर्मीलाई उद्दारमा खटिन कठिनाइ भइरहेको छ।

मुख्यमन्त्री धामीले सामाजिक सञ्जालमार्फत ८० जनाको सफल उद्धार भएको जानकारी दिएका छन्।

सरकारद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ भने खोज तथा उद्धार कार्य बुधवार बिहान पुनः तिव्र रूपमा सञ्चालन हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै