भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग, दोषीमाथि कडा कारबाही हुनुपर्ने सांसद श्रेष्ठको चेतावनी
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणलाई व्यक्तिगत गल्ती वा प्रशासनिक त्रुटि मात्र नभई सांगठानिक, योजनाबद्ध र दलाल संरचनाको संरक्षणमा लुकाइएको भ्रष्टाचारको नमुना भएको भन्दै कडा शब्दमा सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा काण्डबारे सत्य अझै लुकेको बताउँदै भने,
“यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न प्रत्येक नेपालीको मनमा छ।”
उनले सरकारले गठन गरेको हालको छानबिन समिति “टालटुले” भएको भन्दै असन्तुष्टि जनाए। श्रेष्ठले न्यायिक छानबिन आयोग वा संसदीय छानबिन समिति गठनको माग गर्दै, निष्पक्ष र गहिरो अनुसन्धानबाट मात्रै साँचो तथ्य बाहिर आउने बताए।
“दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ,” श्रेष्ठले चेतावनी दिंदै भने, “हामी चित्तबुझ्दो जवाफ नपाएसम्म आन्दोलनबाट पछि हट्दैनौं।”
श्रेष्ठले यस प्रकरणलाई सामान्य रूपमा नलिन संसद र सरकारलाई आग्रह गर्दै भने,
“यो केवल एउटा ट्राभल कागजको विषय होइन, यो नेपालको साख, सुरक्षा र प्रणालीमा जनताको भरोसाको विषय हो।”
सांसद श्रेष्ठको यो अभिव्यक्तिले भिजिट भिसा प्रकरणबारे संसदमा चासो अझै चुलिएको संकेत दिएको छ। सरकार अब के कदम चाल्छ भन्ने कुराले यो विषयको गति तय गर्ने देखिन्छ।












