मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक,अरुण तेश्रो परियोजनाका लागि प्यानल गठन
काठमाडौं-सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका १८ महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। ती निर्णयहरू राष्ट्रिय विकास, सामाजिक न्याय, तथा नीतिगत सुधारसँग जोडिएका छन्।
बैठकले अरुण तेश्रो जलविद्युत परियोजनाको विकासका लागि प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने निर्णय गरेको छ। प्यानलमा डा. पवनकुमार श्रेष्ठ, डा. पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने रहेका छन्। यस्तै, विकासकर्ता कम्पनी र लगानी बोर्डबीच भएको सम्झौतालाई स्वीकृति पनि दिइएको छ।
त्यसैगरी, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरूको सेवा, शर्त तथा सुविधा निर्धारण गर्ने निर्णय पनि गरेको छ।
सामाजिक तथा नीतिगत सुधारतर्फ सरकारले निम्न तीन नीतिगत कागजात स्वीकृत गरेको छ:
- बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२
- राष्ट्रिय श्रम आप्रवासन नीति २०८२
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाँचौँ संशोधन नियमावली २०८२
सरकारको यो निर्णयलाई सामाजिक न्याय, युवा विकास र पूर्वाधार क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
















