रास्वपाको हङकङमा संगठन विस्तार, झमबहादुर गुरुङ संयोजक नियुक्त – Sagarmathapana:: Online News Portal

रास्वपाको हङकङमा संगठन विस्तार, झमबहादुर गुरुङ संयोजक नियुक्त

   २०८२ श्रावण २० गते  

हङकङ, भदौ १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै हङकङमा पनि संरचना विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले झमबहादुर गुरुङलाई हङकङका लागि संयोजकको जिम्मेवारी दिँदै नयाँ नेतृत्वको घोषणा गरेको हो।

सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई दिएको जानकारीअनुसार संयोजक गुरुङको संयोजनमा चाँडै नै तदर्थ समिति गठन गरिनेछ। ११ देखि २१ सदस्यीय कार्यसमिति बनाउने तयारी समेत गरिँदैछ।

सोही सिलसिलामा आइतबार जोर्डनस्थित लाखे रेस्टुरेन्टमा रास्वपा समर्थकहरूको भेला सम्पन्न भएको छ। भेलामा सहभागीहरूले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहारको विरोध गर्दै हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए।

भेलामा सहजकर्ता शिवचन्द्र लिम्बूको संयोजनमा विभिन्न वक्ताहरूले रास्वपाको विकल्पीय भूमिकाबारे बोलेका थिए। उनीहरूले वर्तमान राजनीतिक संकट, पुराना पार्टीप्रतिको वितृष्णा, र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउँदै रास्वपालाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।

संयोजक झमबहादुर गुरुङले पूर्व एमाले सदस्य भएको उल्लेख गर्दै, “अबको विकल्प रास्वपा हो,” भन्दै सबैलाई पार्टीमा सक्रिय सहभागिताका लागि आग्रह गरे। उनले “मिसन ८४” लाई सार्थक बनाउने अभियानमा हङकङवासी नेपालीलाई जोडिन अपील गरे।

यससँगै रास्वपाले प्रवासमा पनि आफ्नो प्रभाव विस्तार गर्न थालेको स्पष्ट देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै