नेवाः पुचः युएईले तोड्यो NEFIN UAE सँगको सम्बन्ध
दुबई-युएईमा सक्रिय प्रमुख जातीय-सांस्कृतिक संस्था नेवाः पुचः युएई (Newah Pucha UAE) ले नेपाल आदिवासी जनजाति महासंघ युएई (NEFIN UAE) सँगको संस्थागत सम्बन्ध पूर्णरूपमा अन्त्य गरेको छ।
संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै NEFIN UAE को आन्तरिक निर्णय प्रक्रिया, नेतृत्व चयनको पारदर्शिता अभाव, र आदिवासी जनजाति आन्दोलनप्रतिको कमजोरी देखाउँदै अबदेखि महासंघको सदस्य नरहने स्पष्ट पारेको छ।
नेवाः पुचः युएईले विगत २३ वर्षदेखि विभिन्न साझा मंचहरूमा सहभागिता जनाउँदै आएको भए पनि पछिल्लो समय महासंघमा भएका असहज गतिविधि, निर्णय प्रक्रियामा पक्षपात र प्रभावशाली नेताहरूको स्वार्थपूर्तिमुखी कदमले आफ्नो आत्मसम्मान र संस्थागत मान्यतामा आँच पुगेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “संस्थागत निर्णयअनुसार अब नेवाः पुचः युएई NEFIN UAE को सदस्य नरहने र कुनै पनि गतिविधिमा सहभागी नहुनेछ।”
नेवाः पुचः युएईले सम्पूर्ण जातीय समुदाय, संस्था, अभियन्ता, मञ्च तथा व्यक्तित्वहरूसँग सहकार्य र सहअस्तित्वमा अगाडि बढ्ने तर नक्कली प्रतिनिधित्व, छलकपट र विभाजनकारी प्रवृत्तिबाट टाढा रहने अठोट व्यक्त गरेको छ।
संगठनले आफ्ना सम्पूर्ण सदस्य संस्थाहरू र आदिवासी समुदायलाई सुसूचित गर्दै, अन्तिम अवसरसम्म सहकार्यको बाटो खुला राखेपनि अवहेलनाका कारण सम्बन्ध विच्छेद गर्नुपरेको दुख व्यक्त गरेको छ।
नेवाः पुचः युएई सन् २००२ मा स्थापना भएको संस्था हो, जसले युएईमा रहेका नेवार समुदायका सदस्यहरूको संस्कृति, भाषा, धर्म र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।













