कक्षा १२ को नतिजा सार्वजनिक, ५ लाख बढी परीक्षार्थी सहभागी
काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो।
उक्त परीक्षामा नियमिततर्फ ५ हजार २०२ विद्यालयका १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा, गरी कुल ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए।
यस्तै, आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी भई कुल परीक्षार्थी संख्या ५ लाख ११ हजार ५२५ पुगेको छ।
परीक्षा बोर्डले नतिजा हेर्नका लागि आधिकारिक वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत सुविधा उपलब्ध गराएको छ।
बोर्डले नियमित, ग्रेड सुधार तथा आंशिक परीक्षार्थीको नतिजा एकैपटक प्रकाशित गरेको हो। नतिजा सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा उत्सुकता र चासो बढेको छ।












