एफएनजे यूकेको १४औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न,वरिष्ठ पत्रकार खगेन्द्र नेपाली सम्मानित
बेलायत।नेपाल पत्रकार महासंघ यूके (एफएनजे यूके) को १४औं स्थापना दिवस तथा वार्षिक उत्सव बेलायतको अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा विशेष आतिथ्यका साथ लन्डन आइपुगेकी थिइन्। कार्यक्रमको पहिलो चरणमा सम्पन्न वार्षिक साधारण सभा र बन्द सत्रमा महासंघको वार्षिक प्रतिवेदन तथा आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरिएको छ।


दोस्रो चरणमा आयोजित खुला सत्रमा बेलायतमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले एफएनजे यूकेको दीर्घ यात्रा र योगदानप्रति बधाई ज्ञापन गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
वार्षिक उत्सवकै अवसरमा “एफएनजे यूके पत्रकारिता सम्मान २०२५” वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरिएको छ। लामो समयदेखि नेपाली पत्रकारितामा उल्लेखनीय योगदान दिँदै आएका नेपालीलाई यस सम्मानमार्फत कदर गरिएको हो।
कार्यक्रमको अध्यक्षता एफएनजे यूके अध्यक्ष विमला सेनेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा उपस्थित अध्यक्ष शर्माले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै आफ्नो कार्यकालभर पत्रकारहरूको हकहित र अधिकारका पक्षमा दृढताका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरिन्।


कार्यक्रममा एफएनजे यूकेका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिएका थिए भने सम्पूर्ण कार्यक्रम महासचिव खेमराज रानाभाटले सञ्चालन गरेका थिए।
कार्यक्रममा एफएनजे यूकेका संस्थापक, पूर्व अध्यक्षहरू, आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष वम सूर्यवंशी थापा मगर, विभिन्न संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अध्यक्ष सेनेले अन्त्यमा सबै अतिथि र सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन घोषणा गरेकी थिइन्।













