प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थानसँगै प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री ओली आइतबार राति काठमाडौँबाट तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका थिए। त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ।”
ओलीले सहभागिता जनाउन लागेको एलएलडीसी सम्मेलनमा जलवायु परिवर्तन, पारवहन सुविधा र दिगो विकासका विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गर्ने बताइएको छ।












