चलचित्र ‘माइतीघर’को फर्स्टलुक सार्वजनिक,उज्यालो घरसँगै पात्र प्रस्तुत
काठमाडौं।राहतरपूर्वक प्रतिक्षा गरिएको नेपाली चलचित्र ‘माइतीघर’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले चलचित्रका प्रमुख पात्रहरूसहितको आकर्षक पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ पहिलो झलक प्रस्तुत गरेको हो।
फर्स्टलुक पोस्टरमा कलाकारहरूको जीवन्त अभिव्यक्ति देखाइएको छ भने पछाडिपट्टि उज्यालो बलिरहेको घरले कथाको गहिराइ संकेत गर्दछ।
रोहित अधिकारी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ का निर्देशक मिलन तामाङ हुन्। चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ। कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुलाल हुन् भने रोहित अधिकारीले चलचित्र प्रस्तुत गरेका छन्।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, र सुशन प्रजापतिको छायांकनले चलचित्रलाई प्राविधिक पक्षबाट समेत बलियो बनाएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ।
‘माइतीघर’ सामाजिक र पारिवारिक कथावस्तुलाई समेट्ने चलचित्र भएको बताइएको छ। चलचित्रको प्रदर्शन मिति भने केही दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।












