उपत्यकाको यातायात सुधारका लागि निर्णायक कदम चाल्न मन्त्री दाहालको आग्रह – Sagarmathapana:: Online News Portal

उपत्यकाको यातायात सुधारका लागि निर्णायक कदम चाल्न मन्त्री दाहालको आग्रह

   २०८२ श्रावण १८ गते  

काठमाडौं-काठमाडौँ उपत्यकाको जटिल बन्दै गएको यातायात समस्या समाधान गर्न तत्काल निर्णायक कदम चाल्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जोड दिएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कन’ विषयक सरोकारवाला निकायहरूसँगको बैठकलाई सम्बोधन गर्दै मन्त्री दाहालले उपत्यकाको ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै गएकाले तत्काल सुधार आवश्यक रहेको बताएका हुन्।

उनले भने, “काठमाडौँ उपत्यका देशको आर्थिक, प्रशासनिक र सांस्कृतिक मुटु हो। तर, सवारीसाधनको अत्यधिक चाप, सहरीकरणको द्रुत विस्तार र अपर्याप्त पूर्वाधारका कारण उपत्यकाको यातायात प्रणाली जटिल बन्दै गएको छ।”

मन्त्री दाहालका अनुसार २०१२ मा बनेको र २०१७ मा अद्यावधिक गरिएको गुरुयोजना पछि पनि समस्या झन् गहिरिएको छ। उनले वातावरणीय प्रदूषण, समयको खेर जाने समस्या र जनस्वास्थ्यमा परिरहेको नकारात्मक असरप्रति चिन्ता व्यक्त गरे।

“अब पनि हामी गम्भीर भएनौं भने उपत्यकाको भविष्य झनै जोखिममा पर्नेछ,” उनले चेतावनी दिए, “यो परियोजना अलमलमा पार्ने होइन, दिगो समाधानको दिशामा अगाडि बढ्ने अवसर हो।”

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यातायात सुधारमा मन्त्रालयको पूर्ण सहयोग रहने बताए भने भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दिगो, सुरक्षित र समावेशी यातायातका लागि बहुपक्षीय समन्वय आवश्यक भएको बताए।

बैठकमा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन सुधार कसरी ल्याउने भन्नेबारे विज्ञहरूले विभिन्न अवधारणापत्र र सुझावहरू प्रस्तुत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै