बहुविवाहलाई प्रोत्साहन गर्ने सरकारको कुनै योजना छैन : मन्त्री चौरसिया – Sagarmathapana:: Online News Portal

बहुविवाहलाई प्रोत्साहन गर्ने सरकारको कुनै योजना छैन : मन्त्री चौरसिया

   २०८२ श्रावण १८ गते  

काठमाडौं।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न खोजेको भन्ने आशंका निराधार भएको स्पष्ट पारेका छन्।

आइतबार नेपाल महिला संघको प्रतिनिधिमण्डलसँग भेटघाट गर्दै मन्त्री चौरसियाले सरकारले महिलाको हक र सुरक्षालाई ध्यानमा राखेर मात्र कानून संशोधन प्रक्रिया अघि बढाइरहेको बताए।

“सरकार बहुविवाहलाई मान्यता दिन खोजेको होइन,” मन्त्री चौरसियाले भने, “अवैध सम्बन्धबाट जन्मिने सन्तानको अधिकार सुनिश्चित गर्न हामी कानून परिमार्जन गर्न लागेका हौं। महिला वा पुरुष, जो कोही दोषी भए पनि कारबाही हुन्छ।”

उनले आफू पनि छोरी बाबु भएको नाताले महिलामाथि अन्याय हुने खालको कानून नबनाउने विश्वास दिलाए।

हाल कानुन आयोगले संहिताको धारा १७५ संशोधन गरी यदि विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रह्यो वा सन्तान जन्मिए, त्यो अवस्थामा दोस्रो विवाह स्वतः मान्यता पाउने व्यवस्था प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो।

यही प्रस्तावको विरोधमा विभिन्न महिला संगठनहरूले विरोध जनाउँदै आएका छन्। उनीहरूको भनाइमा यस्तो प्रावधानले पुरुषहरूलाई बहुविवाह गर्न कानुनी आड दिने खतरा रहेको छ।

तर मन्त्री चौरसियाले त्यस्तो आशंका आवश्यक नरहेको भन्दै संशोधन प्रस्तावमा महिला अधिकारको रक्षा र कानुनी स्पष्टता मुख्य उद्देश्य रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै