जसपाका नेता डा. महतोको अपिल : पार्टीको नीति लिएर गाउँगाउँमा पुग्न कार्यकर्तालाई आग्रह – Sagarmathapana:: Online News Portal

जसपाका नेता डा. महतोको अपिल : पार्टीको नीति लिएर गाउँगाउँमा पुग्न कार्यकर्तालाई आग्रह

   २०८२ श्रावण १८ गते  

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले पार्टीको नीति र विचार लिएर गाउँगाउँसम्म पुग्न कार्यकर्ता पंक्तिलाई अपिल गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै डा. महतोले राजनीति जनताको सेवा र परिवर्तनको माध्यम भएको उल्लेख गर्दै, सबै कार्यकर्ता यही सोचका साथ अघि बढ्नुपर्ने बताए। उक्त प्रशिक्षण कार्यक्रम पार्टीको समाजवादी ट्रेड युनियन महासंघ, नेपाल बौद्धिक पेशाकर्मी महासंघ र संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा सम्पन्न भएको हो।

डा. महतोले विगतमा जसपा नेपाल एकल निर्णय र हैकमवादी शैलीमा चलेको भन्दै त्यसकै बिरोधस्वरूप नयाँ जसपा निर्माण भएको स्पष्ट पारे। अबको जसपा सामूहिक निर्णय प्रक्रियामा आधारित भएर अघि बढिरहेको भन्दै उनले पार्टीको यही ‘स्पिरिट’ तल्लो तहसम्म पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले भने, “हजार जना फटाहाभन्दा दश जना सत्यवादी र इमानदार मान्छे भए समाजको हित हुन्छ। अहिलेको जसपा सत्यको पक्षमा उभिएको पार्टी हो र विस्तारै जनताको विश्वास जित्दैछ।”

पार्टीले संघीयता, सुशासन, समृद्धि र समाजवादको मार्गमा विशेष कार्ययोजना बनाएर अघि बढिरहेको जानकारी दिंदै उनले जनताको आकर्षण पार्टीप्रति बढ्दै गएको उल्लेख गरे। उनले मुलुकको समृद्धिका लागि आगामी दिनहरूमा जसपाले अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै