परालको आगो’मा सौगात मल्ल अनुबन्धित, जितु नेपाल बाहिरिए – Sagarmathapana:: Online News Portal

परालको आगो’मा सौगात मल्ल अनुबन्धित, जितु नेपाल बाहिरिए

   २०८२ श्रावण १७ गते  

काठमाडौं।कथाकार गुरु प्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’मा आधारित नयाँ नेपाली चलचित्रका लागि अभिनेता सौगात मल्ल औपचारिक रूपमा अनुबन्धित भएका छन्। चलचित्र निर्माण टिमले बिहीबार सौगात मल्ललाई अनुबन्धित गर्दै मुख्य पात्र ‘जुठे दमाई’को भूमिकामा प्रस्तुत गरिने जनाएको हो।

पहिले उक्त भूमिकाका लागि अभिनेता जितु नेपालको नाम चर्चामा थियो। तर, हाल आएर जितु बाहिरिएपछि सौगातको आगमनले चलचित्रमा नयाँ ऊर्जा थपिएको निर्माण पक्षको भनाइ छ।

निर्माता सुशील पोखरेलको लगानीमा बन्ने फिल्ममा सौगात मल्लसँगै कलाकारहरू प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेको अभिनय रहने छ।

चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् भने छायांकनको जिम्मेवारी संकल्प भुजेलले सम्हाल्नेछन्। निर्माण पक्षका अनुसार छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासका क्षेत्रहरूमा सुरु हुनेछ।

फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, लेखन सुशील देवकोटा र प्रोडक्सन म्यानेजर नगेन्द्र घिमिरे रहेका छन्।

‘परालको आगो’ कथा सन् १९८० को दशकमा पनि एकपटक फिल्मका रूपमा सार्वजनिक भइसकेको छ। निर्देशक प्रताप सुब्बाले ४५ वर्षअघि यसै कथामा आधारित फिल्म निर्माण गरेका थिए। अहिले फेरि सोही कथालाई नयाँ धारमा प्रस्तुत गर्न लागिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै