तोसिमा कार्कीको भावुक स्पष्टीकरण: “आमाबुवाको दुर्घटनाका कारण रुपन्देही बैठकमा जान सकिन” – Sagarmathapana:: Online News Portal

तोसिमा कार्कीको भावुक स्पष्टीकरण: “आमाबुवाको दुर्घटनाका कारण रुपन्देही बैठकमा जान सकिन”

   २०८२ श्रावण १६ गते  

काठमाण्डौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले रुपन्देहीमा चलिरहेको संसदीय दलको बैठकमा अनुपस्थित रहेको विषयमा सामाजिक सञ्जालमार्फत भावुक स्पष्टीकरण दिएकी छिन्। आफ्ना आमाबुवाको गम्भीर सवारी दुर्घटनापछि उनी हाल आमाको उपचारमै व्यस्त रहेको बताउँदै केही समय उपत्यका बाहिर जान नसक्ने स्पष्ट गरेकी हुन्।

डा. कार्कीका अनुसार अमेरिका भ्रमणबाट फर्किएलगत्तै उनका आमाबुवाको गाडी रातको समयमा दुर्घटनामा परेको थियो। कारको सबै एयरब्याग निस्किने गरी ठूलो दुर्घटना हुँदा स्थानीय युवाहरू र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। बुवाआमालाई तत्काल अल्का अस्पताल पुर्‍याएर प्राथमिक उपचारपछि पाटन अस्पतालको HDU (High Dependency Unit) मा १० दिनसम्म राखिएको थियो।

उनकी आमा हाल पनि छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले बेडरेस्टमा रहेकी छन्। आफू स्वयं चिकित्सक भएकाले घरमै अस्पतालको सरसामान राखेर आमाको उपचार गरिरहेको जानकारी उनले दिइन्।

“सिंहदरबार, संसद र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रममा म सक्दो उपस्थिति जनाइरहेकी छु, तर उपत्यका बाहिर जान अझै केही हप्ता सक्दिन”, उनले सामाजिक सञ्जालमा लेखेकी छन्। उनले यसबारे पार्टीका नेता, उपनेता, प्रमुख सचेतक लगायत सबैलाई जानकारी गराइसकेको पनि उल्लेख गरेकी छन्।

यस्तै आकस्मिक घटनामा उद्धारमा जुट्ने स्थानीय युवाहरू र प्रहरीप्रति उनले विशेष धन्यवाद दिएकी छन्। “त्यो रात, त्यस्तो घडीमा ढोका फोडेर उद्धार गर्नुहुने सबैप्रति मेरो गहिरो आभार छ,” डा. कार्कीले लेखेकी छन्।

उनको यो भावनात्मक स्पष्टीकरणले सामाजिक सञ्जालमा पनि सहानुभूति र समर्थन बटुलेको छ। धेरैले परिवारप्रति जिम्मेवारी निर्वाह गरिरहेकी सांसद कार्कीको कार्यशैलीको प्रशंसा गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै