जनार्दन शर्माको प्रष्टीकरण: “प्रचण्डप्रति होइन, एमालेका प्रधानमन्त्रीप्रति लक्षित थियो अभिव्यक्ति”
काठमाण्डौ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक तनावलाई झनै गहिरो बनाइदिएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा शर्माले दिएका शब्दहरू—“मनमोहनपछि सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुली धन्दामा लागे”—ले पार्टीका कतिपय नेता र कार्यकर्ताबीच तीव्र असन्तुष्टि जन्माएको छ।
शर्माको भनाइप्रति सांसद लेखनाथ दाहालले खुलेर असहमति जनाउँदै स्पष्ट पार्न माग गरेका थिए। जवाफमा शर्माले आफूले एमालेबाट बनेका प्रधानमन्त्रीहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको प्रष्ट पारेका छन्।
“प्रचण्डजीप्रति भनेको होइन”
नेता दाहालले जनार्दन शर्माको प्रष्टीकरण सार्वजनिक गर्दै भने, “उहाँको भनाइ स्पष्ट छ—मनमोहन अधिकारीपछि बनेका सबै असुली धन्दामा लागे भनेको एमालेको कुरा हो। माओवादी पार्टी र अध्यक्ष प्रचण्डजीप्रति केही पनि भनेको होइन।”
शर्माले भने, “तपाईं फेरि सुन्नुस्—मैले मनमोहनपछि असुली धन्दामा लागे भनेको त एमालेका नेताहरू हो। प्रचण्डजी कहाँबाट आउनुभयो र? माओवादी त होइन नि त्यो।”
“यदि प्रतिस्पर्धा गर्न मन छ भने महाधिवेशनमा आउनुस्” – सांसद दाहालको टिप्पणी
सांसद दाहालले जनार्दन शर्माको राजनीतिक भूमिकाप्रति टिप्पणी गर्दै भने, “जनार्दनजी अध्यक्ष प्रचण्डको समकक्षी होइनन्, उहाँ कार्यकर्ता हुनुहुन्छ। प्रतिस्पर्धा गर्न मन छ भने आउँदो महाधिवेशनमा ढ्वाङ थाप्नुस्, निर्वाचन मैदानमा आउनुस्।”
दाहालले हरेक कार्यकर्ता स्वतन्त्र भएको उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास कायम रहनुपर्ने बताए। उनले पार्टी एकतालाई कमजोर पार्ने अभिव्यक्तिबाट टाढा रहन नेताहरूलाई आग्रह समेत गरे।
पार्टीभित्र बढ्दो आन्तरिक विवाद
माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा नेताहरूबीच विचारभिन्नता र व्यक्तिगत आरोप-प्रत्यारोपहरू सतहमा आउन थालेका छन्। यसले पार्टीको रणनीतिक एजेण्डा र संगठनात्मक एकतालाई असर गर्न सक्ने चिन्ता विश्लेषकहरूले व्यक्त गरिरहेका छन्।
अब, शर्माको अभिव्यक्तिपछि उत्पन्न विवाद कसरी साम्य पारिन्छ र आगामी महाधिवेशनमा पार्टी कुन दिशा लिन्छ भन्ने चासो बढेको छ।












