नयाँ सिनेमा ‘रेलको बाटो’को घोषणा, कर्णालीको भोगाइ पर्दामा उतारिने – Sagarmathapana:: Online News Portal

नयाँ सिनेमा ‘रेलको बाटो’को घोषणा, कर्णालीको भोगाइ पर्दामा उतारिने

   २०८२ श्रावण १५ गते  

काठमाडौं–कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थाको गहिरो चित्रण गर्ने उद्देश्यसहित नयाँ सिनेमा ‘रेलको बाटो’ निर्माणको घोषणा गरिएको छ। कस्तुरी प्रोडक्सन प्रा.लि. को निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट को सहकार्यमा बन्ने सिनेमाको कथा र निर्देशन लक्ष्मण सुनार ले गर्नेछन्।

सार्वजनिक थिम पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट तथा “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ब्यानर देखिएको छ, जसले कर्णाली राज्यप्रति भएको बेवास्ता र उपेक्षालाई व्यंग्यात्मक ढंगले उजागर गर्छ। पोस्टरमा उल्लेखित वाक्य “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” ले राज्यको नजरअन्दाजप्रति गहिरो भावनात्मक संकेत गर्छ।

सिनेमामा सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, तथा राजनीतिक बेवास्ता मुख्य विषयवस्तु हुने निर्देशक सुनारले जानकारी दिए। सडकको अभाव, स्वास्थ्य सेवाको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप र शक्ति केन्द्रको बेवास्ता सिनेमाको कथाको मूल धार हुनेछन्।

फिल्मको संगीत सुरज पण्डित, छायांकन निसाल पौडेल, तथा पोस्टर डिजाइन राकेश दाहाल ले गर्नेछन्। कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने फिल्मको वितरण अधिकार काफिया फिल्म्स ले लिएको छ।

निर्माण टोलीका अनुसार सिनेमा २०७८ सालको चर्चित म्युजिक भिडियो ‘रेलको बाटो’ बाट प्रेरित छ। अब सोही शीर्षकमा निर्माण हुने सिनेमा ‘कहिल्यै नआउने रेलजस्तो आशा’ र ‘दुरदराजको पीडा’ लाई पर्दामा जीवन्त रुपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

सिनेमाको छायांकन यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको छ। हाल पटकथा अन्तिम चरणमा छ भने कलाकार छान्ने प्रक्रिया पनि तीव्र गतिमा अगाडि बढाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै