नयाँ गीत ‘मैना चरी’ मार्फत गायिका सारिका घिमिरे पुनः दर्शकमाझ आउँदै – Sagarmathapana:: Online News Portal

नयाँ गीत ‘मैना चरी’ मार्फत गायिका सारिका घिमिरे पुनः दर्शकमाझ आउँदै

   २०८२ श्रावण १५ गते  

काठमाडौं-‘गुन भुल्यौ’ गीतको अपार सफलतापछि चर्चामा आएकी गायिका सारिका घिमिरे अब नयाँ गीत लिएर दर्शक/स्रोतामाझ आउन लागेकी छन्। सारिकाले ‘मैना चरी’ बोलको गीत छिट्टै सार्वजनिक गर्ने भएकी छन्।

‘गुन भुल्यौ’ गीतले युट्युबमा १ करोड ३३ लाखभन्दा बढी भ्यु पाएको थियो भने हजारौं टिकटक प्रयोगकर्ताले त्यसमा भिडियो बनाएका थिए। यही गीतले सारिकालाई संगीत क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको हो।

नयाँ गीत ‘मैना चरी’ मा सारिकाकै शब्द र स्वर रहेको छ भने संगीत र संगीत संयोजन योगेश काजीले गरेका छन्। यस पटक सारिकाले गीतसँगै अफिसियल भिडियो पनि ल्याउने भएकी छन्। भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन् भने निर्देशन गम्भीर विष्टले गरेका छन्।

सारिकाले आफ्नो युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्ने तयारी गरेकी छन्। उनी भन्छिन्, “‘गुन भुल्यौ’ जस्तै यो गीत पनि सबैको मन छुन सफल हुनेछ भन्ने विश्वास छ।”

दर्शक र स्रोताहरू पनि यस गीतलाई लिएर निकै उत्साहित छन्। अब केही दिनमै ‘मैना चरी’ गीतको भिडियो सार्वजनिक हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै