भूमि विधेयक फिर्ता नगरे जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
काठमाडौँ।जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश विरोधी भूमि सम्बन्धी विधेयक फिर्ता नगरे जनविद्रोहको चेतावनी दिएका छन्।
बुधबार सप्तरीको राजविराजमा सम्पन्न जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारले जबर्जस्ती भूमि विधेयक ल्याएर मधेशी जनताको पहिचान मेटाउन खोजेको आरोप लगाए। उनले भने, “सरकारले मधेशविरोधी विधेयक लाद्न खोजेमा मधेशी जनता आफ्नो अस्तित्वको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन्।”

अध्यक्ष यादवले चुरे दोहन, वन विनाश तथा पहाडबाट मधेशमा अवैध बसोबास गराउने सरकारको योजनाप्रति चिन्ता व्यक्त गर्दै जनतालाई सतर्क रहन आग्रह गरे। उनले भने, “जमिनको सतहमा पानीको मूल आधार चुरे क्षेत्र हो, त्यसको विनाश मधेशलाई मरुभूमिमा परिणत गर्ने षड्यन्त्र हो।”
पानी संकट र कृषि क्षेत्रको समस्यातर्फ संकेत गर्दै यादवले बजेट संशोधन गरी समस्याको समाधान गर्न माग गरे। “४० प्रतिशत जनसङ्ख्या रहेको समुदायलाई ८९ प्रतिशत बजेट दिइन्छ भने मधेशका ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट दिनु अन्याय हो,” उनले भने।
संविधान पुनर्लेखनको माग गर्दै यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणालीमा सुधार जस्ता विषयहरू संविधानमा समावेश हुनुपर्ने बताए। “जबर्जस्ती लादिएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम बनाएको छ,” पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले भने।
प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै उनले आलोचना गरे, “प्रदेश सरकारसँग न त प्रहरी छ, न कर्मचारी, प्रदेशलाई अधिकारविहिन बनाइएको छ।”
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरे। जसपाका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका सूर्यनाथ यादव, रास्वपाका डम्बर साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मण्डल, जनमत पार्टीका रामगमन साह, समाजवादी लोकतान्त्रिक पार्टीका सुनिल कुमार झा लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
सोही अवसरमा मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको थियो। अधिवेशन तीन दिनसम्म साउन १४, १५ र १६ गतेसम्म चल्ने जनाइएको छ। अध्यक्ष पदमा केदार यादव, उपाध्यक्ष उमेश यादव र हरेराम यादवबीच प्रतिस्पर्धा हुने चर्चा छ।












