बर्दिया जिल्ला सभापति बिपिन पौडेलको हृदयघातबाट निधन
बर्दिया-राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बर्दिया जिल्ला सभापति बिपिन पौडेलको असामयिक निधनको खबरले सम्पूर्ण पार्टी पङ्क्ति स्तब्ध भएको छ।
सिङ्गापुर भ्रमणका क्रममा हृदयघात (हार्ट अट्याक) भई उहाँको दुःखद निधन भएको पुष्टि भएको छ। उहाँको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समर्पित, कर्मठ र सधैं पार्टीका मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहनुभएका नेता बिपिन पौडेलज्यूको असामयिक निधनले अपूरणीय क्षति पुगेको छ।”
उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको समेत पार्टीले जनाएको छ।
यस दुःखद घडीमा पार्टीले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै, परमात्माले दिवंगत आत्मालाई चिरशान्ति र परिवारजनलाई यो पीडा सहने शक्ति प्रदान गरून् भन्ने कामना गरेको छ।













