सडकमा मेयर, सिंहदरबारमा सत्ताको निद्रा: संघीयताको सिंगो मजाक!”
काठमाडौं।राजधानी को मुटु माइतीघर मण्डला सत्ताको आँगनको छेउमै निर्वाचित जनप्रतिनिधि सडकमै सिरक-डसना ओछ्याएर सुते। उहाँ थिए-खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तर सिंहदरबारभित्र भने सत्ताका कानमा संविधानको तकिया राखिएको थियो लोकतन्त्र निद्रामा थियो।


भट्टराईको माग के थियो? ‘स्थानीय स्रोतसाधन प्रयोग गर्न देऊ।’रक्सी, ढुंगा, बाँस, निगालो हामी आफैं उत्पादन गर्छौं,आफैं उपयोग गर्छौं तर उत्तर के आयो?
संघीयता छ रे, तर कानुन केन्द्रले बनाउँछ। तपाईँ जननिर्वाचित नगरप्रमुख हो, तर निर्णय गर्ने अधिकार छैन। गाउँलेले बोट काट्न नपाओस्, तर मल्टिनेशनल कम्पनीले जंगलै लुटून केही फरक पर्दैन।
अब प्रश्नको सगरमाथा उठ्छ — तर सरकारको कानमा तेल!
१. सिंहदरबार के हो? जनताको सरकार कि कानुनको कारखाना?
२. स्थानीय सरकार जनताको नजिक छ- तर अधिकार किन राजधानीको पेटमा थन्किएको छ?
३. संघीयता के कागजको नाटक मात्र हो?
जब एउटा निर्वाचित मेयरले सडक छेउमा बास बस्दै देशलाई खबरदारी गर्छ, त्यो पनि नसुनिने हो भने लोकतन्त्रको हालत के हो?
“सरकार कहाँ छ?”
तपाईंको कानमा संविधानको तकिया छ तर जनताका प्रतिनिधि धरातलमै छटपटाइरहेका छन्।
यो दृश्य माइतीघरमा खिचिएको हो त्यहाँ गाडी गुडिरहेका थिए,तर सरकार सुतेको थियो।


त्यहाँ संविधान बोकेको नेताहरू थिए, तर संविधान बाँचिरहेको थिएन।
अब भन्नुहोस् सरकार,भन्नुहोस्
सडकमै सुतेर रोएका जनप्रतिनिधिको चिच्याहट सुन्न नसक्ने सरकारले जनताको रगत र पसिनाको मुल्यांकन कहिले गर्छ?
यो खबर होइन- यो खबरदारी हो।
संघीयता फाइलमा होइन, मैदानमा देखिनुपर्छ।
तस्वीर हेर्न नबिर्सनुहोस् —
जहाँ मेयर सडकमै सुते,
तर सरकार कानुनको पिँजडामा बन्द भएर निदायो।













