नेपाली कांग्रेसको महाधिवेशन अर्को वर्ष मंसिरभित्र हुने सम्भावना
काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्षको मंसिरभित्र सम्पन्न हुने सम्भावना रहेको बताउनुभएको छ। उहाँका अनुसार क्रियाशील सदस्यताको विवाद टुंगो नलागेकाले यस वर्ष मंसिरमा महाधिवेशन सम्भव नभएको हो।
सिटौलाले अर्को प्रसंगमा हालै सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो। उहाँले सहमति अनुसार वर्तमान सरकार अघि बढ्ने धारणा राख्नुभएको हो।
बागमतीमा राजनीतिक संकट, मुख्यमन्त्री लामाको पद धरापमा
यसैबीच बागमती प्रदेशमा नेपाली कांग्रेसकै आन्तरिक विवाद गहिरिँदै गएको छ। कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ समूहले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै लामाको पद संकटमा परेको हो।
स्रोतका अनुसार बानियाँ पक्षमा हालसम्म २१ जना सांसदले हस्ताक्षर गरिसकेका छन्। बागमती प्रदेशसभामा कांग्रेसका ३७ सिट रहेका छन्। विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रावधान भएकाले बानियाँले लामालाई हटाउन दलको सचिवालयमा औपचारिक प्रस्ताव दर्ता गराएका हुन्।
मुख्यमन्त्री लामाले भने चार जना मन्त्रीले राजीनामा दिएपछि उनीहरूको स्थानमा नयाँ मन्त्री नियुक्त गर्दै बानियाँ पक्षका सांसदलाई फकाउने प्रयास थालेका छन्। यसका लागि उनी काठमाडौंमा केन्द्रीय नेतृत्वसँग परामर्शमा व्यस्त छन्।
बजेटमा देखिएको विवाद र लामाको कार्यशैलीप्रति असन्तुष्टिका कारण अहिले बागमतीको राजनीति तरंगित बनेको छ।












