कच्चा पदार्थ प्रयोगमा संघीय ऐन वाधक भन्दै खोटाङका नगरप्रमुखको माइतीघरमा सत्याग्रह
काठमाडौं–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले संघीय ऐनले स्थानीय कच्चा पदार्थ प्रयोगमा वाधा पुर्याएको भन्दै सातबुँदे मागसहित माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्।
नगरप्रमुख भट्टराईले यसअघि पटक–पटक लिखित तथा मौखिक रूपमा संघीय सरकारलाई अनुरोध गरे पनि वेवास्ता भएको आरोप लगाएका छन्। “स्थानीय स्रोत र सामग्री प्रयोग गरेर पूर्वाधार निर्माण गर्न पाइएन भने विकास कार्यमा ढिलाइ मात्र होइन, खर्च पनि बढ्छ,” उनले चेतावनी दिए।



सत्याग्रह सुरु गर्नु अघि उनी सिंहदरबारको दक्षिण गेटतर्फ कपाल मुन्डन गर्दै पुगेका थिए। तर त्यहाँ निषेधित क्षेत्र भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर उनलाई माइतीघरमा पुर्याएको हो।
नगरप्रमुख भट्टराईले केही दिनअघि नै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो माग सम्बोधन नभए कठोर कदम चाल्ने चेतावनी दिएका थिए। उनका अनुसार, सम्बन्धित निकायले माग पुरा नगरेसम्म सत्याग्रह जारी रहनेछ।
भट्टराईले अघि सारेका सातबुँदे मागमा स्थानीय सामग्री प्रयोग गर्न कानुनी अनुमति, संघीय ऐन संशोधन, विकास योजनामा स्थानीय तहलाई प्राथमिकता, वातावरणमैत्री नीति कार्यान्वयन लगायतका विषय समेटिएका छन्।
https://sagarmathapana.com/wp-admin/post.php?post=18149&action=edit















