जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

   २०८२ श्रावण १२ गते  

काठमाडौं-बहुप्रतिक्षित नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ।

गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर रहेको छ भने, शब्द हर्क साउदले लेखेका हुन्। संगीत र एरेञ्जमेन्ट पनि एसडी योगीकै रहेको छ।

सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू समावेश छन्। भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, र गौरव पहाडीलाई प्रमुख रूपमा देख्न सकिन्छ।

गीतमा प्रेममा रहेका जोडीहरूको कथा समेटिएको छ। बोलमा टिपिकल नेपाली शब्दहरूको प्रयोग गरिएको छ, जहाँ प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताउँदै जिन्दगी सँगै जिउने सल्लाह दिएकी छिन्।

भिडियोमा ठूलो संख्यामा कोरस डान्सरहरू देखाइएको छ। क्यारेक्टर आर्टिस्ट नाच्न सक्दैनन् भन्ने भनाइलाई खण्डन गर्दै अभिनेता विजय बरालले उत्कृष्ट डान्स परफर्म गरेका छन्।

चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका छन्। यसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, र भावना खपांगी मगरलगायतको अभिनय रहेको छ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। चलचित्रलाई पेपरक्लिप ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। एसोसिएट निर्देशकमा मनिष राउत रहेका छन्।

चलचित्रको वितरण काफिया फिल्म्समार्फत गोविन्द शाहीले गर्नेछन्। ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेका कारण यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै