सञ्चारकर्मीहरूका लागि दुई दिने सामाजिक सुरक्षा अभिमुखीकरण सम्पन्न
काठमाडौं-काठमाडौंमा सञ्चारकर्मीहरूलाई लक्षित गरी सामाजिक संरक्षण र सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा साउन ९ र १० गते बौद्धमा आवासीय रुपमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले नेपालको सामाजिक सुरक्षाको अवधारणा, पहुँच र महत्वबारे जानकारी दिए। त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सानुबाबु अधिकारीले गैह्र योगदानमा आधारित सामाजिक सुरक्षा र कानुनी प्रावधानबारे प्रष्ट पारे।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षाबाट बिरामी, अशक्तता, दुर्घटना, बुढेसकाल, बेरोजगारी तथा मातृत्व अवस्थामा प्राप्त हुने सुविधा बारे जानकारी गराउँदै अधिकतम लाभ लिन आग्रह गरे।
सेभ द चिल्ड्रेनका हेमन्त दँगालले विपद् संवेदनशील सामाजिक सुरक्षाको महत्वबारे प्रकाश पार्दै पछिल्लो समय विपद्बाट प्रभावित हुनेको संख्या बढिरहेको बताए। साथै, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले सञ्चारकर्मीहरूले यस विषयमा जानकारीमूलक सामग्री तयार गर्नुपर्ने उल्लेख गर्दै पत्रकारलाई पुरस्कृत गर्ने तयारी भइरहेको जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङ, पिपुल इन निडका नवीन श्रेष्ठ र कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेललगायतले विभिन्न सत्र सहजीकरण गरेका थिए।
अभिमुखीकरणमा सहभागी पत्रकारहरूले सामाजिक सुरक्षा नीति, विपद् संवेदनशील प्रणाली र कार्यान्वयनका चुनौतीबारे सुझाव दिएका थिए।












