सौगात मल्ल ‘मितज्यू’मा अनुबन्धित,दयाहाङसँग पुनर्मिलन
काठमाडौं।अभिनेता सौगात मल्ल निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा औपचारिक रूपमा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार सौगातलाई अनुबन्ध गर्दै कलाकार टोलीलाई थप सशक्त बनाएको घोषणा गरेको हो।
यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएकाले दर्शकमा फिल्मप्रति उत्साह अझै बढेको निर्माण पक्षको दाबी छ।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता घर्ती मगरको यो दोस्रो सहकार्य हो।
सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन् भने फिल्म ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण हुनेछ। मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा रहेको टिमले जानकारी दिएको छ।
निर्माण पक्षका अनुसार फिल्म चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।












