काठमाडौं महानगरपालिकाको कडाई : सार्वजनिक स्थलमा धुम्रपान,अब बस पार्किङ र फोहोरमा कडा जरिवाना – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगरपालिकाको कडाई : सार्वजनिक स्थलमा धुम्रपान,अब बस पार्किङ र फोहोरमा कडा जरिवाना

   २०८२ श्रावण ९ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्ने, तोकिएको स्थानबाहेक सवारी पार्किङ गर्ने र प्रचार सामग्रीमार्फत फोहोर गर्नेहरूमाथि कडा जरिवाना लगाउने निर्णय गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरको असार ३२ गते सम्पन्न नगर सभाबाट पारित भएको नयाँ नियमहरूको जानकारी गराउँदै भदौ १ गतेदेखि कडाइका साथ कार्यान्वयन सुरु हुने बताए। उनले साउन ९ गतेदेखि एक महिना जनचेतनामूलक प्रचार–प्रसार गरिने जानकारी दिए।

अब सार्वजनिक स्थानमा धुम्रपान गरेमा यस्तो हुनेछ

अब सार्वजनिक स्थल (सडक, पार्क, चोक, प्रतीक्षालय, आदि) मा धुम्रपान गर्दा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना लाग्नेछ। दोहोरिएमा उक्त जरिवाना दोब्बर अर्थात् १ हजार रुपैयाँ हुनेछ।

“सार्वजनिक स्थलमा धुम्रपान निषेध छ भन्ने चेतावनी राखी निगरानी कडा बनाइनेछ,” प्रमुख पाण्डेले भने।

तोकिएको स्थानबाहेक पार्किङ गर्ने सवारीसाधनलाई अब यस्तो जरिवाना लाग्नेछ:

मोटरसाइकल/स्कुटर: १,००० रुपैयाँ

कार/जीप/डेलिभरी भ्यान: २,५०० रुपैयाँ

मिनीबस/मिनीट्रक: ३,५०० रुपैयाँ

बस/ट्रक/लहरी: ५,००० रुपैयाँ

फोहोर गर्ने प्रचार सामग्रीमा कडा कारबाही

सार्वजनिक स्थलमा पर्चा, पोस्टर, स्टिकर टाँस्ने वा ब्रोसर वितरण गरेर फोहोर गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। गल्ती दोहोरिएमा हरेक पटक जरिवाना दोब्बर हुनेछ।

महानगरले जनचेतनाका लागि व्यापक प्रचार अभियान सञ्चालन गर्ने र नियम पालना नगरेका व्यक्तिहरूलाई बिनानोटिस जरिवाना गरिने स्पष्ट पारेको छ।

काठमाडौं महानगरको यो निर्णयले स्वच्छ, व्यवस्थित र स्वस्थ सार्वजनिक वातावरण निर्माणमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। नागरिकले आफू र अरूको स्वास्थ्य तथा सुविधा ख्याल गर्दै नयाँ नियमको पालना गर्नुपर्ने आवश्यक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै