नेपालमा पहिलो पटक एआई आचारसंहिता सार्वजनिक, अनलाइन टिभी पत्रकार संघको पहल – Sagarmathapana:: Online News Portal

नेपालमा पहिलो पटक एआई आचारसंहिता सार्वजनिक, अनलाइन टिभी पत्रकार संघको पहल

   २०८२ श्रावण ५ गते  

काठमाडौँ–नेपालमा पहिलो पटक (Artificial Intelligence – AI) सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ। अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गर्दै एआई प्रयोगलाई मर्यादित, उत्तरदायी र व्यावसायिक दिशामा अगाडि बढाउन पहल गरेको हो।

आज काठमाडौँमा आयोजित एक समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे एआई आचारसंहिता सार्वजनिक गरे। अध्यक्ष भण्डारीले एआईको सम्भावित दुरुपयोग न्यूनीकरण गर्दै यसको सदुपयोग सुनिश्चित गर्न आचारसंहिता अपरिहार्य भएको उल्लेख गर्दै भने, “एआईको प्रयोग अनलाइन पत्रकारितामा तीव्ररुपमा बढ्दैछ। यसले ल्याउने चुनौती र अवसरलाई सन्तुलित गर्न हामीले यो कदम चालेका हौँ।”

सूचना प्रविधिको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी अधिकारीले पनि यो पहललाई प्रशंसनीय भन्दै यसलाई नेपालकै पहिलो एआई आचारसंहिताको रुपमा घोषणा गरे। उनले भने, “अनलाइन टिभी पत्रकार सङ्घको यो प्रयास अन्य क्षेत्रका लागि पनि प्रेरणादायी छ। यस्ता आचारसंहिता अब सबै क्षेत्रमा आवश्यक भइसकेका छन्।”

आचारसंहिताको मुख्य बुँदाहरू

एआई सहयोगमा बनाइएका सामग्रीको अन्तिम अनुमोदन र सम्पादन मानव सम्पादकबाटै गरिने।

एआईद्वारा सिर्जित सामग्रीमा स्पष्ट रूपमा एआईको प्रयोग भएको जनाइने।

एआई सामग्रीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने।

गोपनीयता, अश्लीलता, संवेदनशील सूचना तथा भ्रमपूर्ण सामग्री निर्माणमा एआईको प्रयोग निषेध।

पत्रकारले आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने।

अनुगमनको जिम्मेवारी अनलाइन टिभी पत्रकार सङ्घले लिने।

सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार, यसअघि २०७७ सालमा जारी गरिएको स्वनियमन निर्देशिकापछि यो दोस्रो महत्त्वपूर्ण दस्तावेज हो, जसले श्रव्यदृश्य पत्रकारितामा एआई प्रयोगको दिशालाई मर्यादित बनाउनेछ।

एआई प्रविधिको बढ्दो प्रयोगबीच नेपालमा यस्ता पहलहरूले डिजिटल पत्रकारिता क्षेत्रमा नैतिक, पारदर्शी र उत्तरदायी प्रयोगको मार्ग खोल्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै