भिजिट भिसा’समाचारप्रति पत्रकार महासंघ यूकेको खण्डन र आपत्ति(प्रेस विज्ञप्ति)
काठमाडौं।नेपाल पत्रकार महासंघ यूकेले हालै सार्वजनिक गरिएका केही समाचारप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। महासंघले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको’ आशंका गरिएको समाचारलाई भ्रामक, निराधार र तथ्यहीन भनेको छ।

महासंघकी अध्यक्ष बिमला सेने र महासचिव खेमराज रानाभाटद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा, विपिन निरौलाको नाममा फैलाइएको जानकारीको खण्डन गर्दै, उनी महासंघको यूके शाखाका अध्यक्ष नभएको प्रष्ट पारिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकारीताको सामान्य धर्म सत्य र तथ्यको पालना गर्नु हो। तर, कुनै आधिकारिक जानकारी नलिईव्यक्तिपरक रुपमा समाचार लेख्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हो।”

महासंघले नेपाल पत्रकार महासंघ केन्द्रलाई समेत आधिकारिक रूपमा पत्रचार गरिसकेको जानकारी दिँदै, संस्थाको गरिमा र साखमा आँच पुग्ने गरी अतिरञ्जित रिपोर्टिङ नगर्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेको छ।
साथै, महासंघले मिडियामा आएका यस्ता सामग्रीले पत्रकारिताको विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै ‘सस्तो लोकप्रियता’को लागि तथ्यहिन समाचार नगर्न चेतावनीसमेत दिएको छ। तथ्य र प्रमाणसहितको रिपोर्टिङ गर्नु नै पेशागत पत्रकारिता हो भन्ने सन्देश दिन नेपाल पत्रकार महासंघ यूकेले सबै पत्रकार साथीहरूलाई स्मरण गराएको छ।













