पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत फेला, मेयरको धम्कीपछि मानसिक तनावमा रहेको परिवारको आरोप
काठमाडौं।रौतहटको कटहरिया नगर पालिका–५ निवासी अन्दाजी ३० वर्षीय पत्रकार रविन्द्र प्रजापति शनिबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।गरुडा म्युजिकल एफएममा कार्यरत प्रजापति रेडियोमा समाचार लेखन, सम्पादन र वाचनमा सक्रिय थिए। केही समययता उनी कटहरिया नगरपालिकामा देखिएको खानेपानी अभाव र नगरपालिकाको लापरवाहीसम्बन्धी समाचारमा विशेष सक्रिय देखिएका थिए।
स्थानीयका अनुसार, यिनै समाचारको कारण नगरप्रमुख अजयप्रकाश जयसवालबाट उनले पटक–पटक धम्की र गालीगलौज सहनु परेको थियो।
परिवारका अनुसार, मेयरको धम्कीपछि उनी गहिरो मानसिक तनावमा थिए र डरका कारण घरबाहिर जान छाडेका थिए।
नेपाल पत्रकार महासंघ रौतहट, प्रेस चौतारी नेपाल रौतहट शाखा लगायतका पत्रकार संगठनहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै, यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
संगठनहरूले पत्रकारिताको मूल्य र स्वतन्त्रतामाथि भएको आक्रमण भन्दै सङ्गठित दबाब कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएका छन्।
यस घटनाले देशभर पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषय फेरि एकपटक चर्को रुपमा उठाएको छ।












