एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी, व्यवहारिक एजेन्डामा जोड
काठमाडौं।जापानमा १८ वर्षदेखि सक्रिय गैरआवासीय नेपाली समुदायका अगुवा सिद्धार्थ श्रेष्ठले एनआरएनए (गैरआवासीय नेपाली संघ) जापानको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। टोकियोमा आयोजित एक साधारण र सन्तुलित कार्यक्रममा उनले कुनै तामझामबिना आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
श्रेष्ठले यसअघि एनआरएनए जापानमा प्रवक्ता, महासचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सम्हाल्दै नेतृत्वको अनुभव बटुलेका छन्। तर, यसपटक उनले प्रचार–प्रसारभन्दा बढी व्यवहारिक योजनालाई प्राथमिकता दिएका छन्। न कुनै ठूलो ब्यानर, न आकर्षक नारा – उनको अभियान समस्या समाधानमुखी कार्ययोजनामा केन्द्रित देखिन्छ।
व्यवहारिक योजना: विद्यार्थीदेखि ‘नेपाल हाउस’ सम्म
श्रेष्ठको घोषणापत्रमा जापानमा रहेका नेपाली विद्यार्थीहरूको सहजता, नेपाल फर्किन हवाई टिकटमा सहुलियत ल्याउने पहल, र जापानी भाषा सिक्न नेपालीहरूको पहुँच विस्तारजस्ता विषयहरू प्राथमिकतामा छन्।
“ठूला भाषण र नारा होइन, तत्कालीन आवश्यकता बुझेर योजनाहरु ल्याउनुपर्छ,” उनले कार्यक्रममार्फत भने।
उनले ‘नेपाल हाउस’ निर्माणलाई समेत आफ्नो अभियानको महत्वपूर्ण हिस्सा बनाएका छन्। यो संरचना जापानमा रहेका नेपालीहरूको साझा सांस्कृतिक केन्द्र र गन्तव्य बन्ने लक्ष्य लिइएको छ।
पारदर्शिता र जवाफदेहिताको उदाहरणीय प्रतिबद्धता
श्रेष्ठले करिब ६ वर्षअघि एनआरएनए जापानमा देखिएको आर्थिक अनियमितता सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहिताका पक्षमा आफ्नो स्पष्ट भूमिका प्रदर्शन गरिसकेका छन्। आपतविपत्तिमा नेपालीहरूको साथमा उभिनु, निष्पक्ष अभिव्यक्ति र स्पष्ट दृष्टिकोणका कारण उनी जापानस्थित नेपाली समुदायमा लोकप्रिय पात्रका रूपमा चिनिन्छन्।
उनको उम्मेदवारीले जापानमा रहेका करिब २ लाख ५० हजार नेपालीहरूमाझ आशा र सकारात्मक परिवर्तनको संकेत दिएको छ। नेतृत्वमा सिद्धार्थ श्रेष्ठको प्रवेशले एनआरएनए जापानमा समुदायमुखी र परिणाममुखी सोचलाई बलियो बनाउने विश्वास बढेको छ।












