स्पेन भिसा प्रकरण :सीआईबीले स्पेनी दूतावाससँग माग्यो भिजिट भिसा लिनेको विवरण – Sagarmathapana:: Online News Portal

स्पेन भिसा प्रकरण :सीआईबीले स्पेनी दूतावाससँग माग्यो भिजिट भिसा लिनेको विवरण

   २०८२ श्रावण ३ गते  

नयाँ दिल्लीस्थित दूतावासलाई पत्राचार, ४९ जना गएको आशंका, ५५ जना फर्काइयो

काठमाडौं।नेपालबाट स्पेन जाने नाममा फर्जी कागजातमार्फत असम्बन्धित व्यक्तिहरू पठाइएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सक्रिय भएको छ। CIB अन्तर्गत एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा गठित छानबिन समितिले दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरी नेपालबाट स्पेन जान भिजिट भिसा लिनेहरूको विस्तृत विवरण मागेको छ।

उक्त समितिमा मानव बेचविखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत, इन्स्पेक्टर शेखर खड्कासहित ६ जना छन्। छानबिनको दायरामा उनिहरूको भिजिट भिसा लिँदा पेश गरिएका कागजात र पेश गर्ने संस्थाहरूको विवरणसमेत मागिएको छ।

स्पेनको सेभिल्लामा असार १६–१९ गते सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलन “International Conference on Financing for Development of United Nations (FFD-4)” मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारी टोली गएको थियो। तर सोही अवसरलाई बहानाबाजी बनाएर असम्बन्धित र शंकास्पद व्यक्तिहरू पनि स्पेन पुगेको भन्ने आरोप सार्वजनिक भएपछि छानबिन अघि बढाइएको हो।

फर्जी कागजात, दलाली र दूतावासको संलग्नता

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट कतिपय व्यक्तिहरू गैरसरकारी संस्थाका प्रतिनिधि बनेर सम्मेलनमा सहभागी भएको देखिएको छ। दलाल समूहले बालुवाटारस्थित बीएलएस सेन्टरमार्फत कागजात संकलन गरी दिल्लीस्थित स्पेनी दूतावासमा पठाएर भिसा लिएको पाइएको छ।

सूचना चुहिएको आधारमा दिल्लीस्थित दूतावासको आग्रहमा नेपालका ५५ जना यात्रुहरूलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको पनि एक छानबिन सदस्यले बताए। उनका अनुसार, ‘४९ जना पहिले नै स्पेन पुगेको भनिए पनि, स्पेनी दूतावासबाट आधिकारिक जवाफ प्राप्त भएपछि मात्रै वास्तविक संख्या पत्ता लाग्नेछ।’

पासपोर्ट तथा अध्यागमन विवरण माग

भिजिट भिसामा स्पेन गएका व्यक्तिहरूको सूचि अध्यागमन विभागबाट लिएर छानबिन भइरहेको छ। त्यसैअनुसार राहदानी विभागलाई समेत पत्राचार गरी शंकास्पद पासपोर्ट लिनेहरूको विस्तृत विवरण मागिएको छ।

गृहमन्त्री रमेश लेखकले संसदमा उठेको प्रश्नपछि असार ३१ गते छानबिन समिति गठन गरेका थिए। अहिले उक्त समितिले अनुसन्धानलाई तीव्रता दिएको छ।

यस प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि, अध्यागमन प्रणाली र एनजीओ नेटवर्कमा गम्भीर प्रश्न उठाएको छ।अब सीआईबीले दूतावासबाट प्राप्त हुने विवरणअनुसार थप अनुसन्धान अघि बढाउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै