कांग्रेस सभापति देउवाको भनाइ : “आदिवासी जनजातिको सहभागिता बढाउनु आवश्यक”
काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको पार्टीभित्र सहभागिता अझ सशक्त रूपमा वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाल बहुजाति, भाषा, धर्म र संस्कृतिको साझा गन्तव्य भएको बताउँदै, “नेपाल सबै जातजातिको साझा घर हो, यसलाई अझ सुन्दर बनाउन हामी सबैको सहकार्य जरुरी छ,” भन्ने धारणा राख्नुभयो।
उहाँले नेपालको मौलिकता आदिवासी जनजातिहरुको बहुलता र सांस्कृतिक विविधतामा रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपालको पहिचान र संस्कृति जोगाउने काममा आदिवासी जनजातिको भूमिका अत्यन्त महत्वपूर्ण छ।”
सभापति देउवाले कांग्रेस पार्टी आदिवासी जनजातिको हक अधिकार र पहिचानको संरक्षणका लागि सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले पार्टीभित्र उनीहरूको सहभागिता र योगदान अझ सशक्त बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रममा सभापति देउवाले नेपाललाई सुन्दर, समावेशी र विविधतामा एकताको प्रतीक बनाउने दिशामा सबै जातजातिको योगदान अपरिहार्य रहेको धारणा पनि व्यक्त गर्नुभयो।












