गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ सार्वजनिक, सोलुखुम्बुको कला-संस्कृतिको प्रवर्द्धनमा योगदान – Sagarmathapana:: Online News Portal

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ सार्वजनिक, सोलुखुम्बुको कला-संस्कृतिको प्रवर्द्धनमा योगदान

   २०८२ श्रावण ३ गते  

काठमाडौं।लोकप्रिय गायिका देविका बन्दनाको नयाँ म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राई, साथै अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

देविका बन्दनाले सो गीत सोलुखुम्बुको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सृजना गरिएको बताइन्। चीन भ्रमणको क्रममा सोलुखुम्बुका जनप्रतिनिधिसँगको भेटले आफूलाई त्यहाँको कला र संस्कृति प्रतिको आकर्षण बढाएको र त्यसैबाट प्रेरित भई गीत सिर्जना गरिएको उनले बताइन्।

थुलुङ गाउँपालिकाका अध्यक्ष राईले गीतमार्फत सोलुखुम्बुको मौलिकता उजागर भएको भन्दै गायिकाप्रति आभार प्रकट गरे। उनले भने, “गीत पुनः छायाङ्कन गरी अझ सशक्त बनाउने हो भने पालिकाले खर्च बेहोर्नेछ।”

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गायिका देविकाले क्यान्सरजस्तो गम्भीर रोग जितेर पुनः संगीत क्षेत्रमा फर्किएकोमा प्रशंसा गर्दै गीतको सफलताको शुभकामना व्यक्त गरे।

गीतमा शब्द देविका बन्दनाकै छन् भने संगीत र एरेञ्ज किरण कँडेलको रहेको छ। गायनमा किरणले पनि साथ दिएका छन्। भिडियो निर्देशन कमल राईले गरेका हुन् भने सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’, र विशाल गुरुङ भिडियोमा मोडलका रूपमा प्रस्तुत छन्।

कार्यक्रममा उपस्थित कलाकार तथा संगीतकर्मीहरूले गीतले सोलुखुम्बुको पर्यटन र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। कार्यक्रममा गायिकाले म्युजिक भिडियो छायाङ्कन गरिएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग समेत प्रदान गरिन्। हाल सो गुम्बामा करिब ७०० बालबालिका अध्ययनरत छन्।

गायिका देविका बन्दनाले हालसम्म १०० भन्दा बढी नेपाली चलचित्रमा स्वर दिएकी छिन्। उनका ‘भरे आउँछु सपनीमा’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ लगायत थुप्रै गीतहरू नेपाली संगीतप्रेमीबीच अत्यन्त चर्चित छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै