पार्टीभित्रको अराजकता नियन्त्रणमा आउनुपर्छ : अध्यक्ष ओली
काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकता र अनुशासनहीनता बढ्दै गएको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभएको छ। आज बसेको पार्टीको बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ठूलो संगठित हमला भइरहेको अवस्थामा भित्रबाट गरिने आक्रमणलाई क्षम्य नठानिने चेतावनी दिनुभयो।
“पार्टीमाथि अहिले गम्भीर हमला भइरहेको छ। यस्तो बेलामा पार्टीभित्रैबाट हुने अराजक गतिविधिलाई तत्काल रोकिनुपर्छ, अन्यथा पार्टी स्वयंले नियन्त्रण गर्छ,” ओलीले स्पष्ट रूपमा भन्नुभयो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने अड्कलबारे पनि ओलीले प्रतिक्रिया जनाउँदै भन्नुभयो, “पत्रिकाबाट मात्रै थाहा भयो, उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो। अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भन्ने जिम्मेवारी दिइएको हो।”
उहाँले भण्डारीको पार्टी सदस्यता नविकरण नभएको पनि उल्लेख गर्दै निर्णय समिति र प्रक्रियामार्फत मात्र त्यसबारे निर्णय गरिने बताए। “यो मेरो व्यक्तिगत धारणा हो, तर विधिसम्मत छलफल आवश्यक छ,” ओलीले भन्नुभयो।
विधान विवादबारे प्रस्ट्याइँ
पार्टीको विधानको कभर पृष्ठमा भएको भिन्नताबारे उठेका प्रश्नबारे पनि अध्यक्ष ओलीले प्रतिक्रिया दिनुभयो। उहाँले पार्टी पद्धति र प्रक्रियाका विषयमा छलफल पार्टीभित्रै सीमित रहनुपर्ने बताउँदै कर्ण थापाले विधानको ‘कभर मात्र फरक परेको’ भन्दै प्रष्ट पारेको उल्लेख गर्नुभयो।
“कभरको कुरा मात्रै हो भने किन यति ठूलो बबाल? यस्तो कुरालाई बाहिर लैजानु अनुचित हुन्छ,” ओलीले भन्नुभयो।
पार्टी नेतृत्वप्रति विश्वास कायम राख्दै उहाँले पार्टीको एकता, अनुशासन र विधिप्रति सबै नेता तथा कार्यकर्ताले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।












