कालाबाङ घरेडी बुद्धपार्क : हाइकिङ र होमस्टेमार्फत पर्यटकीय प्रवर्द्धन
पोखरा–पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६० औँ हाइकिङ शृङ्खलामा कालाबाङ घरेडी बुद्धपार्क क्षेत्रलाई समेटेको छ। ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ भन्ने मूल नारासहित क्लबले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गर्दै आएको हो।
पोखरा–२२ स्थित कालाबाङ घरेडीबाट सुरु भएको एक दिवसीय पदयात्रा भुम्दी, तारेभिर, चिसापानी हुँदै पुनः बुद्धपार्कमा समापन गरिएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।
उक्त क्षेत्रले घरवास पर्यटनमार्फत पर्यटकलाई मौलिक अनुभव दिँदै आएको छ। गुरुङ समुदायको बाहुल्य रहेको कालाबाङ गाउँमा १८ घरमा होमस्टे सञ्चालनमा छन्। “दैनिक ९० जना सम्म पर्यटकलाई होमस्टेमा राख्न सक्ने क्षमता छ,” कालाबाङ होमस्टे अध्यक्ष यामबहादुर गुरुङले बताए।
२०७३ सालदेखि पर्यटन कार्यालयमा दर्ता भई औपचारिकरुपमा सञ्चालनमा आएको होमस्टे अहिले स्वदेशी तथा विदेशी पर्यटकबीच लोकप्रिय बन्दै गएको छ। पोखराको पृथ्वीचोकबाट एक घण्टाको दूरीमा रहेको यस गाउँमा बेलुका खाजा, रातको खाना, बिहानको नास्ता र बासको व्यवस्था समेत गरी रु १,१०० को प्याकेजमा सेवा दिइँदै आएको छ।
स्थानीय बासिन्दाले पर्यटकका लागि ब्राह्मणको भजन, गुरुङको झ्याउरे, दलित समुदायको रत्यौली र नौमती बाजा हेर्ने-सुन्ने कार्यक्रमको पनि व्यवस्था मिलाएका छन्। ढुङ्गे घर, ढुङ्गाका छपनी र कलात्मक बाटाहरूले यहाँको वातावरण झनै आकर्षक बनाएको छ।
कालाबाङको शिरमा अवस्थित बुद्धपार्क पछिल्लो समय नयाँ आकर्षणको केन्द्र बनेको छ। करिब तीन करोड लागतमा स्थानीय सहभागितामार्फत निर्माण गरिएको बुद्धपार्कबाट फेवाताल, धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमशृङ्खला समेत अवलोकन गर्न सकिन्छ।
“छोटो समयका लागि पोखराबाट हाइकिङ गर्न चाहने पर्यटकका लागि बुद्धपार्क क्षेत्र आदर्श गन्तव्य हो,” अध्यक्ष रानाभाटले बताए। एकैदिनमै पदयात्रा र गाउँको सांस्कृतिक अनुभव लिन सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो छ।
हाइकर्स क्लब नेपालले यस्ता गतिविधिमार्फत पर्यटन प्रवर्द्धनका साथै स्थानीय संस्कृति र जीवनशैलीको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ।












