“इतिहासविद् तुम्बाहाङफेको दोस्रो कृति ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण”
काठमाडौं।इतिहासका जिउँदा साक्षी, सम्मानित इतिहासविद् श्री लीला बहादुर तुम्बाहाङफेद्वारा लिखित बहुप्रतीक्षित कृति ‘याक्थुङ साप्मुन्धुम’ को भव्य लोकार्पण समारोह आज हङकङमा सम्पन्न भएको छ।


लिम्बु र लिम्बुवानको समग्र ऐतिहासिक दस्तावेजका रूपमा यस पुस्तकले जातीय, सांस्कृतिक तथा राजनीतिक चेतनालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। ‘याक्थुङ साप्मुन्धुम’ लेखक तुम्बाहाङफेको दोस्रो ऐतिहासिक कृति हो, जसमा लिम्बुवानको इतिहास, संस्कृति, परम्परा र आन्दोलनको दस्तावेजीकरण गरिएको छ।
उक्त लोकार्पण समारोहमा हङकङ नेपाली महासंघ तथा नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष गुरुङले ब्लु ओशन रेष्टुरेन्टमा आयोजित समारोहमा निमन्त्रणा स्वीकार गर्दै सहभागिता जनाएकी थिइन्।

उक्त अवसरमा बोल्दै अध्यक्ष रिता गुरुङले भनिन्, “इतिहासको गर्भबाट पुनः सजीव भएर आएका यस्ता कृतिहरूले प्रवासमा रहेका नेपाली समुदायमा जगेर्ना, पहिचान र आत्मगौरवको भावना थप बलियो बनाउँछ।”
समारोहमा हङकङस्थित नेपाली समुदायका अगुवाहरू, बुद्धिजीवी, संस्कृतिकर्मी, पत्रकार, लेखक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमले समग्रमा प्रवासी भूमिमा नेपाली भाषामा लेखिएको इतिहास तथा साहित्यको मूल्य र योगदानलाई स्मरणीय बनाएको छ।
श्री लीला बहादुर तुम्बाहाङफेले यसअघि प्रकाशित आफ्नो पहिलो कृति ‘लिम्बुवानको राजनीतिक इतिहास’ पश्चात् दोस्रो कृतिका रूपमा प्रस्तुत ‘याक्थुङ साप्मुन्धुम’ मा अझ गहिरो अनुसन्धान, मौलिक स्रोतहरू, र ऐतिहासिक सन्दर्भहरूलाई समेट्दै लिम्बु समुदायको गौरवशाली इतिहासलाई उजागर गर्ने प्रयत्न गर्नुभएको छ।
कार्यक्रमको समापनमा लेखक तुम्बाहाङफेले सहभागी सबैप्रति आभार प्रकट गर्दै आगामी पुस्ताका लागि अझ धेरै यथार्थपूर्ण र प्रमाणिक ऐतिहासिक कृतिहरू लेख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
श्रोत:रिता गुरुङ
अध्यक्ष, हङकङ नेपाली महासंघ
अध्यक्ष, नेपाल क्लब हङकङ












