फिल्म: ‘मुनामदनको ब्रेकअप’ घोषणा ग्रामीण परिवेशको प्रेमकथा
काठमाडौं।नेपाली सिनेमामा नयाँ फिल्मको तयारी सुरु भएको छ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने ‘मुनामदनको ब्रेकअप’ नामक नयाँ फिल्मको घोषणा गरिएको छ। फिल्ममा पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने कार्यकारी निर्माता श्रीधर पौडेल रहनेछन्।
पत्रकारिता पृष्ठभूमिबाट फिल्म क्षेत्रमा सक्रिय रहेका लामा, तिमल्सेना र पौडेलले यसअघि २०७५ सालमा सार्वजनिक फिल्म ‘गोपी’ मा एकसाथ काम गरेका थिए। अहिले फेरि तीन जनाको सहकार्य पुनः सुरु भएको छ।
फिल्ममा हालसम्म अभिनेता राज कटवाल मात्र आधिकारिक रूपमा अनुबन्धित भएका छन्। उनले पछिल्लो समय ‘नरसिंहा अवतार’मा आफ्नो अभिनय प्रस्तुत गरेका थिए। निर्देशक लामाका अनुसार, “कथामा चरित्र सुहाउँदा कटवाललाई अनुबन्ध गरिएको हो, अन्य कलाकार पनि कथानुसारै छानिनेछन्।”
दीपेन्द्र लामा यसअघि ‘घामपानी’ देखि ‘दुखी आत्मा’सम्म छवटा फिल्म निर्देशन गरिसकेका छन्। उनको नयाँ फिल्मलाई उनले मनोरञ्जन र गहिरो कथावस्तु मिश्रित बनाउने लक्ष्य राखेका छन्।
पटकथाकार तिमल्सेनाका अनुसार, “यो फिल्ममा ग्रामीण परिवेशको भिन्न स्वादमा आधारित प्रेमकथा प्रस्तुत गरिनेछ। पछिल्लो समय हलसम्म दर्शक ल्याउन गाह्रो हुँदै गएको अवस्थामा, कथा लेखनमा हामीले विशेष ध्यान दिनेछौं।”
राज कटवालले यस फिल्मलाई लिएर आफ्नो उत्साह व्यक्त गरेका छन्। उनले भने, “यो भूमिकालाई लिएर म धेरै गम्भीर छु। अघिल्ला भूमिकाभन्दा अझ परिष्कृत देखिनका लागि म आफूलाई अझ निखार्नेछु।”
फिल्मको छायांकन कास्की जिल्लाको ग्रामीण भेगमा गरिने कार्यकारी निर्माता श्रीधर पौडेलले जानकारी दिए। उनले भने, “पटकथा र प्रिप्रोडक्शन पर्फेक्ट भएपछि मात्रै छायांकन सुरु हुनेछ। हामी गुणस्तरीय प्रोडक्ट दिन चाहन्छौं, त्यसैले हतार गर्दैनौं।”












