मन्त्रीको घुसकाण्ड मानव तस्करीबारे पनि छानबिन गर्नुपर्छ: मन्त्री किराती – Sagarmathapana:: Online News Portal

मन्त्रीको घुसकाण्ड मानव तस्करीबारे पनि छानबिन गर्नुपर्छ: मन्त्री किराती

   २०८२ असार २९ गते  

काठमाडौँ—सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नाम जोडिएको ७८ लाख घुस डिलको अडियो सार्वजनिक भएपछि संघीय संसदमा विवाद चुलिएको छ। नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वमन्त्री सुदन किरातीले आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गर्दै “सुशासनका नाममा बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको” टिप्पणी गरे।

किरातीले उक्त घुस प्रकरणको स्पष्ट जानकारी संसदलाई दिन माग गर्दै प्रधानमन्त्री पुरानो भनाइ स्मरण गराए। उनले भने, “माननीय प्रधानमन्त्रीज्यूले यही संसदमा उभिएर भन्नुभएको थियो— म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न। हामी चित्रगुप्ताको अगाडि जवाफ दिने विश्वासमा होइनौं, हामीलाई यही जुनीमा जवाफ चाहिएको हो।”

उनले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीको मिलेमतोमा कर्मचारी सरुवामा ठूलो रकमको लेनदेन भएको आरोप लागिरहेकोप्रति चिन्ता व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गरिनुपर्ने माग गरे।

यसै विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि सदनमा सरकारको स्पष्ट जवाफ मागे। उनले सुशासनको अपेक्षा गरिएको सरकारले यस्ता प्रकरणमा चुप लाग्नु नहुने तर्क गर्दै “प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ” भने।

त्यस्तै, सांसद रेखा शर्माले समेत मन्त्री गुप्ताको नाम जोडिएको अडियो प्रकरणको छानबिनको माग गर्दै, “७८ लाखको डिल गरिएको अडियो सार्वजनिक भएको अवस्थामा सरकारले चुप लाग्नु मिल्दैन। दोषी प्रमाणित भए कडाभन्दा कडा कारबाही गर्नुपर्छ,” भनिन्।

यसबीच, स्पेनमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री  शर्मा ओली नेतृत्व मा भएको कथित मानव तस्करीबारे पनि किरातीले गम्भीर छानबिनको माग गरे।

यस घुस प्रकरणबारे प्रतिपक्षी दलले तीव्र प्रतिक्रिया दिँदै सरकारको जवाफ माग गरिरहेका छन्, तर सत्तापक्षको तर्फबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै