राप्रपा नफुट्ने नवराज सुवेदिको दाबी
काठमाडौँ-‘संयुक्त जनआन्दोलन समिति’ का संयोजकसमेत रहेका नवराज सुवेदीले अहिले देखा परेको विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने बताएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पार्टीको अनुशासन समिति अध्यक्षबाट हटाएका थिए।
राप्रपा अनुशासन समिति अध्यक्षमा लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई मनोनीतसमेत गरिसकेका छन्।
तर सुवेदीले आफूलाई हटाएको विरोधमा आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन्। पार्टी विधानविरीत आफूलाई हटाएको दाबी उनको छ।
सुवेदीले गत चैत ४ गते ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए। त्यसबेला उनले राप्रपाको साधारण सदस्यता पनि परित्याग गरेको घोषणा गरेका थिए।
सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभई अध्यक्षबाट मात्रै भएको पनि बताए।
‘निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन, मैले मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनुभयो भन्ने,’ उनले भने, ‘पार्टीमा आन्तरिक अन्याय हुन लाग्यो, त्यसको खिलापमा मैले यो आवाज उठाएको हो।’
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए। ‘मैले के अुनशासन विपरीत काम गरेँ?’ उनले प्रतिप्रश्न गरे।
पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए।












