गोधूलि कला साहित्य प्रतिष्ठानको आयोजनामा “गोधूलि भानु काव्योत्सव सम्पन्न”, ११ स्रष्टा सम्मानित – Sagarmathapana:: Online News Portal

गोधूलि कला साहित्य प्रतिष्ठानको आयोजनामा “गोधूलि भानु काव्योत्सव सम्पन्न”, ११ स्रष्टा सम्मानित

   २०८२ असार २९ गते  

काठमाडौं-गोधूलि कला साहित्य प्रतिष्ठानको आयोजनामा २१२ औं भानुजयन्तीको अवसरमा ‘गोधूलि भानु काव्योत्सव २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। विश्वकवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याउने ११ जना स्रष्टालाई विशेष सम्मान प्रदान गरिएको छ।

प्रतिष्ठानले यस वर्षको गोधूलि–भानु शिखर अभिनन्दन वरिष्ठ कवि तुलसी दिवसलाई समर्पण गरेको छ भने, गोधूलि भानु शिखर काव्य सम्मान वरिष्ठ साहित्यकारद्वय राधेश्याम लेकाली र गंगा कर्माचार्य पौडेललाई प्रदान गरिएको हो।

त्यस्तै, भानुजयन्तीको अवसरमा अन्य विभिन्न क्षेत्रका साहित्यिक स्रष्टा र संस्थाहरूलाई पनि सम्मानित गरिएको छ। सम्मानित व्यक्तित्वहरूमा साहित्यकार तथा पत्रकार रेणुका भट्टराई ‘मञ्जरी’, वरिष्ठ साहित्यकार भीष्मराज ढुंगेल, ‘चोभार व्लूज’का लेखक विक्रम भक्त जोशी, साहित्यिक अभियन्ता रेणु अधिकारी ‘मौनता’, लोकदोहोरी गायक दीपसागर थापा मगर, कवि तथा पत्रकार श्रीराम राई, संगठक गीता अर्याल, लोकगायक प्रेम खड्का, साथै संस्थागत तर्फबाट एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल टिकाराम पौडेल र विज्ञान विभाग प्रमुख सन्देश ढकाल रहेका छन्।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक पशुपति गुरुङले गरेका थिए भने साहित्यकार गोपीकृष्ण प्रसाईले भानुभक्तको साहित्यिक योगदानबारे विशेष मन्तव्य राखेका थिए। सम्मान कार्यक्रमपछि दोस्रो चरणमा रचना वाचन कार्यक्रम सम्पन्न भयो, जसको सहजीकरण राजन न्यौपानेले गरेका थिए।

रचना वाचन कार्यक्रममा तुलसी दिवससहित, विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, भगवती बस्नेत, राजु उवरकोटी, द्वारिका कुईकेल, ओमकृष्ण प्रसाई, घनबहादुर थापा, रोमा लम्साल, रश्मी रिमाल, आशिष ऐडी, भोजभक्त कँडेल र प्रकाश समीरले आफ्ना सिर्जनाहरू प्रस्तुत गरे।

कार्यक्रममा सहभागी कविहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै, रेणु अधिकारी ‘मौनता’, विक्रम भक्त जोशी र बालकवि स्वस्तिका गुरुङले पनि रचना वाचन गरेका थिए।

विशेष उपलब्धिका रूपमा, वरिष्ठ समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नो २५औं वैवाहिक वर्षगाँठको अवसरमा गोधूलि प्रतिष्ठानलाई ५ लाख ५ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेकी छन्। प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले कार्यक्रममा सक्रिय सहयोग पुर्‍याउने गोपीकृष्ण प्रसाई र राजन न्यौपानेप्रति आभार व्यक्त गर्दै सम्पूर्ण सहभागीप्रति सम्मान प्रकट गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै