विश्व जनसंख्या दिवसमा मन्त्री पौडेलको सन्देश : “जनसंख्यालाई अवसरमा रूपान्तरण गर्न साझा प्रयास आवश्यक”
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको अवस्थामा जनसांख्यिकीय लाभांश सदुपयोग गर्न सरकारले सक्रिय कदम चालिरहेको बताएका छन्।
विश्व जनसंख्या दिवस २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पौडेलले हालै स्वीकृत राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई देशको वर्तमान जनसांख्यिकीय चुनौती समाधानको मार्गदर्शक दस्तावेजको रूपमा कार्यान्वयन गरिने जानकारी दिए।
उनले भने, “नेपालको जनसंख्याको बनावट, वितरण र संरचनालाई हेर्दा अहिले अवसरसँगै चुनौतीहरू पनि देखिएका छन्। तिनको सम्बोधनका लागि तीनै तहका सरकारमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ।”
मन्त्री पौडेलले बढ्दो ज्येष्ठ जनसंख्या र युवा पुस्ताको आकांक्षा दुबैलाई सन्तुलनमा राख्दै अन्तरपुस्तीय ज्ञान हस्तान्तरण र पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको व्यवस्थापन अपरिहार्य भएको बताए।
उनले नीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग सहयोग र सकारात्मक सुझाव अपेक्षा गर्दै भने, “जनसंख्यालाई अवसरमा रूपान्तरण गर्न साझा प्रयास, समन्वय र एकता जरुरी छ। नेपालका युवाको सपना साकार पार्न हामी सबैको सहभागिता अनिवार्य छ।”
हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवसको उद्देश्य जनसंख्याका विषयमा जनचेतना फैलाउनु हो। यो वर्ष नेपालमा वृद्ध जनसंख्या व्यवस्थापन, युवा अवसर विस्तार र जनसांख्यिकीय रूपान्तरणमा जोड दिइएको छ।












