गुरुङ म्यानेजमेन्टको ठगी धन्दा, दुई युवती भारतमा एक महिनासम्म बन्धक
काठमाडौं– वैदेशिक रोजगारीको सपना देखाउँदै गुरुङ म्यानेजमेन्ट म्यानपावरमार्फत बुल्गेरिया लैजाने भन्दै दुई नेपाली युवतीसँग २९ लाख ५० हजार रुपैयाँ ठगी गरिएको खुलासा भएको छ। कैलालीकी अस्मिता बस्नेत र अंकिता चौधरी ठगीको शिकार बनेका हुन्।
सामाखुशीस्थित गुरुङ म्यानेजमेन्ट म्यानपावरका प्रतिनिधिका रूपमा प्रस्तुत भएका बिचौलिया राजकुमार भण्डारीले उनीहरूलाई बुल्गेरिया पठाइदिने आश्वासन दिएका थिए। सोही प्रक्रिया अनुसार उनीहरूलाई भारत पुर्याइयो। तर, रोजगारी त परको कुरा भयो, उनीहरू दिल्ली हुँदै पञ्जाबमा लगेर झण्डै एक महिना बन्धक बनाएर राखिएको पीडितको भनाइ छ।
उक्त म्यानपावर कम्पनी वैदेशिक रोजगार व्यवसायी संघका हालै निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङको स्वामित्वमा रहेको हो। पीडितका अनुसार भण्डारीले आफु गुरुङकै एजेन्ट भएको दाबी गरेका थिए र गुरुङकै म्यानपावर कार्यालयमा पुर्याएर आर्थिक कारोबारसमेत गरेका थिए।
अस्मिता बस्नेतबाट १४ लाख र अंकिता चौधरीबाट १५ लाख ५० हजार रुपैयाँ लिएको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा दर्ता गरिएको छ।
अपराध अनुसन्धान कार्यालयले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ। अर्कातर्फ, पीडितले कम्पनीमै पुगे पनि क्षतिपूर्ति दिनेजस्तो व्यवहार मात्रै गरिएको र अहिलेसम्म ठोस जवाफ नआएको बताएका छन्।
यस घटनाले पुनः म्यानपावर कम्पनीहरूको नियमन र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणको सवाल उठाएको छ। पीडितहरूलाई न्याय मिलोस् र दोषीलाई कारबाही होस् भन्ने अपेक्षा सर्वत्र छ।












