प्रधानमन्त्रीको भ्रमणबारे अभिव्यक्ति निन्दनीय : सांसद योगेश भट्टराई – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीको भ्रमणबारे अभिव्यक्ति निन्दनीय : सांसद योगेश भट्टराई

   २०८२ असार २५ गते  

काठमाडौं–नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री को स्पेन भ्रमणमा गएकामध्ये कोही पनि नफर्किएको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनु भएको छ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले यस्तो अभिव्यक्तिलाई निन्दनीय र भर्त्सनायोग्य भन्दै खण्डन गर्नुभयो। उहाँले प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका २८ जना सबै स्वदेश फर्किसकेको प्रधानमन्त्री कार्यालयले आधिकारिक रूपमा पुष्टि गरिसकेको जानकारी दिनुभयो।

भट्टराईले बिना प्रमाण सार्वजनिक रूपमा प्रधानमन्त्री र सरकारको बदनाम हुने गरी अभिव्यक्ति दिनु आपत्तिजनक भएको भन्दै सांसद गौतमलाई त्यसको प्रमाण दिन चुनौति समेत दिनुभयो। उहाँले भन्नुभयो, “कुन व्यक्ति नफर्किएको हो? नाम र प्रमाणसहित ल्याउन सक्नुपर्छ। सरकारलाई लाञ्छित गर्ने यो प्रवृत्ति बन्द हुनुपर्छ।”

त्यसैगरी, भट्टराईले रास्वपामाथि लक्षित आरोपसमेत लगाउँदै पार्टीभित्रका नेताहरु जेलमा रहेको, र मेनपावरमार्फत ठगीमा संलग्न रहेको टिप्पणी गर्नुभयो।

यो विषयले संसदमा राजनीतिक ताप बढाएको छ। प्रधानमन्त्रीको भ्रमणबारे उठेका प्रश्नहरू र त्यसमा आएका प्रतिक्रिया अब थप छलफलको विषय बन्ने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै