प्रधानमन्त्रीको स्पेन भ्रमण विवादमा एमाले र माओवादीको आक्रोश, रास्वपामाथि प्रतिकृया
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको सन्दर्भमा उठेको विवादले मंगलबार प्रतिनिधिसभा तनावपूर्ण बनेको छ। रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका केही व्यक्ति नफर्किएको दाबी गरेपछि नेकपा एमाले र माओवादी केन्द्रले तीव्र आपत्ति जनाएका छन्।
सांसद गौतमले संसदको बैठकमा प्रधानमन्त्रीसँग गएका केही पदाधिकारीहरू “फरार” रहेको भन्दै सरकारसँग जवाफ माग गरेकी थिइन्। तर सो अभिव्यक्तिपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ती आरोपहरू “निराधार, कपोकल्पित र भ्रामक” भएको भन्दै अभिव्यक्तिलाई सदनको रेकर्डबाट हटाउन माग गरे।
बर्तौलाले संसदमा चुनौती दिँदै भने, “प्रधानमन्त्रीसँग को गयो, को फर्किएन, नामसहित खुलासा गरियोस्।” उनले यस्ता आरोपहरूले सरकार र प्रधानमन्त्रीको छविमा आँच आउने र संसदको गरिमा घटाउने बताएका छन्।
उक्त विषयमा माओवादी केन्द्रले पनि चर्को आपत्ति जनाउँदै, सांसदहरूले उठाएका प्रश्नको उत्तर मन्त्रीहरूले दिनुपर्नेमा दलका सचेतकहरूले जवाफ दिन थालेकोप्रति असन्तुष्टि जनाएको छ। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, “सरकारको जवाफ सरकारबाटै आउनुपर्छ, दलको हैसियतले होइन।”
साथै, उनले सरकारको निर्देशनमा संसदको कार्यसूची परिवर्तन भएको भन्दै, “सदनमाथि दवाव र हस्तक्षेप भइरहेको छ,” भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
यता, रास्वपाले भने सांसद गौतमको भनाइ वास्तविक सूचनामा आधारित भएको बताउँदै, आवश्यक परे थप प्रमाण प्रस्तुत गर्न तयार रहेको संकेत दिएको छ।
यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।












