फिल्म ‘मोहर’को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

फिल्म ‘मोहर’को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक

   २०८२ असार २४ गते  

काठमाडौँ-साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘मोहर’ को दोस्रो गीत ‘झुम झुम झुम्किका’  सार्वजनिक गरिएको छ। गीतले दर्शकमा उत्साह थपेको छ, किनभने यसमा फिल्मका चर्चित कलाकार पल शाह र बेनिशा हमालको रसभरि नृत्य र रोमान्स झल्किएको छ।

गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द तथा एसडी योगीकै संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा पल र बेनिशाको नाच, झगडा र हास्य मिश्रित दृश्यले दर्शकलाई बाँध्न सक्छ भन्ने अनुमान गरिएको छ।

विशेष कुरा के भने, यस भिडियोमा पल शाह लामो कपालमा फरक लुक्समा प्रस्तुत भएका छन्। साथै, गीतमा मिथिला शर्मा, बाल कलाकार सारा शर्माको पनि आकर्षक उपस्थिति देख्न सकिन्छ।

यसअघि सार्वजनिक भएको शिर्ष गीतमा पल शाह र नीति शाहको जोडी देखिएको थियो भने, यो नयाँ गीतले पल–बेनिशाको केमेस्ट्री प्रस्ट्याउने प्रयास गरेको छ।

‘फिल्म मेकर्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्ममा अर्जुन जंग शाही, रविन्द्र झा, लक्ष्मी गिरी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन तथा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ।

‘देउकी प्रथा’ जस्तो सम्वेदनशील सामाजिक कथावस्तुमा आधारित ‘मोहर’को टिजरले पहिल्यै दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ। फिल्ममा निर्देशक गिरिराज घिमिरेका सहायक निर्देशनमा लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेका छन्।

यस गीतले फिल्मप्रतिको अपेक्षा अझ चुल्याएको छ। अब हेर्न बाँकी छ, गीतको जस्तै फिल्मले पनि दर्शकको मुटु जित्न सक्दछ कि सक्दैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै