दक्षिण कोरियामा योगमाया र उनका अनुयायीहरूको जलसमाधि स्मरण कार्यक्रम हुँदै
काठमाडौँ।नेपालको समाज रुपान्तरणमा ऐतिहासिक योगदान पुर्याएकी योगमाया न्यौपाने र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले विशेष कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम यही जुलाई १३ आइतबार, दिउँसो १२ बजे पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुनमा हुनेछ।

भोजपुर परिवारले कोरियामा भइरहने परम्परागत खालका कार्यक्रमहरूभन्दा भिन्न ढंगले समाज रुपान्तरणमा योगदान दिने व्यक्तित्वको सम्झनामा श्रद्धाञ्जलि स्वरूप यो कार्यक्रम गर्न लागेको जनाएको छ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला, र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई विशेष वक्ताका रूपमा विचार प्रस्तुत गर्नेछन्।
यस कार्यक्रमको प्रमुख अतिथि गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फे रहनेछिन्।
कार्यक्रममा योगमाया र उनका अनुयायीहरूले विभिन्न अन्याय, अत्याचार र सामाजिक विसंगतिका विरुद्ध सामूहिक जलसमाधि लिई पुर्याएको ऐतिहासिक बलिदानलाई स्मरण गरिनेछ।
भोजपुर परिवार दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय र संघसंस्थालाई कार्यक्रममा उपस्थित भई ऐतिहासिक बलिदानीहरूलाई सम्मान गर्न हार्दिक निमन्त्रणा गरेको छ।













