आईजीपी थापाको निर्देशन : नागरिकमुखी सेवा र जोखिम न्यूनीकरणमा प्रहरी सतर्क रहनुपर्ने
काठमाडौं।प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनलाई नागरिकमुखी सेवा र जिम्मेवारीप्रति थप सचेत र संवेदनशील हुन निर्देशन दिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूसँग समसामयिक विषयमा सम्बोधन गर्दै उनले नागरिकको सुरक्षालाई केन्द्रमा राखी स्रोतसाधनको अधिकतम प्रयोग गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

आईजीपी थापाले विगतका कमजोरीहरूमाथि गहिरो आत्ममूल्यांकन गर्दै सुधारका प्रयासलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए। उनले भने, “संयमता र व्यावसायिकताको उच्चतम मापदण्डलाई अपनाउँदै हाम्रा कार्यहरू नागरिकमैत्री बन्नुपर्छ।”
उनले प्राकृतिक विपद् व्यवस्थापन र क्षति न्यूनीकरणका लागि प्रहरीलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। जोखिमयुक्त क्षेत्रमा सचेतना अभिवृद्धि गर्न, उद्धार र राहत कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्न समेत उनले प्रहरीलाई आग्रह गरे।
समकालीन चुनौतीहरूमध्ये प्रविधिको दुरुपयोगबाट हुने अपराध, संगठित आपराधिक गतिविधि तथा लागूऔषध ओसारपसार र प्रयोग नियन्त्रणमा विशेष सतर्कता आवश्यक रहेको आईजीपी थापाको भनाइ छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायमाथि हुने अपराधमा शून्य सहनशीलताको नीति अपनाई काम गर्नुपर्नेमा उनले जोड दिए।
हिरासत व्यवस्थापन र फरार प्रतिवादीको खोजी तथा पक्राउमा सक्रियता देखाउनुपर्ने बताउँदै थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
संगठनात्मक नीति निर्देशनको कडाइका साथ पालना गर्दै प्रहरी भित्रको गुनासो व्यवस्थापन र सामूहिक भावना सुदृढ गरी उच्च मनोबलका साथ सेवा प्रवाह गर्नुपर्नेमा आईजीपी थापाले विशेष ध्यान दिन आग्रह गरे।












