किसन प्रधान पुनः नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा निर्विरोध चयन
काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको छैटौं वार्षिक साधारण सभाले किसन प्रधानलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ। राजधानीमा सम्पन्न सभाबाट क्राउन ओभरसिज कन्सल्ट्यान्स प्रालिका सञ्चालक प्रधान नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो।
सभाले प्रथम उपाध्यक्षमा विजयराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रविण श्रेष्ठ, महासचिवमा देवेन्द्र नारायण श्रेष्ठ, सचिवमा गगन श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा मोती लक्ष्मी श्रेष्ठ, विद्यालक्ष्मी बज्राचार्य, अमितकुमार श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र जानवीस श्रेष्ठ ‘जस्मिन’ चयन भएका छन्।
सभाले अध्यक्ष प्रधान, महासचिव श्रेष्ठ र कोषाध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ।
अध्यक्ष प्रधानले वैदेशिक रोजगारी क्षेत्रमा समस्या समाधानका लागि समाजले संघलाई सहयोग पुर्याउँदै आएको र नेवारी संस्कृति संरक्षण र प्रवर्द्धनका सामाजिक उत्तरदायित्वका काममा पनि समाज सक्रिय रहेको बताए। उनले संघ नेतृत्वले घटक संस्थालाई प्रभावकारी रूपमा समेट्न नीतिगत र रचनात्मक काममा जोड दिनुपर्ने धारणा राखे।
महासचिव श्रेष्ठले सेवा शुल्क परिमार्जन, युरोपियन मुलुकको मागपत्र प्रमाणीकरणलगायतका समस्या समाधानका लागि समाजले निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले व्यवसायी विरोधी नीतिगत प्रावधानविरुद्ध कानुनी लडाइँ जारी रहेको बताए।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, संघका पूर्वअध्यक्ष तथा सांसद एलपी साँवा लिम्बू, संघ र समाजका पदाधिकारीहरू, सल्लाहकारहरू र उद्योगी–व्यवसायीहरू सहभागी थिए।
त्यस्तै, समाजलाई आर्थिक सहयोग पुर्याउने रामप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, मेघराज श्रेष्ठ, ध्रुव डंगोल, सुरज महर्जन, सूर्यकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, दिलकुमार श्रेष्ठ, जानवीस श्रेष्ठ (जस्मिन) र साजनमान जोशीलाई सम्मान गरिएको थियो।












